काठमाडौं। पाकिस्तानी सेनाले आइतबार बिहान अफगानिस्तानको सीमावर्ती क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Al Jazeera का अनुसार उक्त आक्रमण तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेटसँग सम्बन्धित सात वटा शिविर तथा लुक्ने स्थानलाई लक्षित गरी गरिएको दाबी पाकिस्तानले गरेको छ।
पाकिस्तानी सरकारले हालै भएका आत्मघाती हमलापछि प्रतिशोधस्वरूप यो कारबाही गरिएको स्पष्ट पारेको छ। सूचना तथा प्रसारण मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यसलाई “गुप्तचर सूचनामा आधारित सटीक अपरेशन” भनिएको छ। पाकिस्तानको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, “हामीसँग बलियो प्रमाण छ कि पछिल्ला आक्रमणहरू अफगान भूमिबाट सञ्चालन भइरहेको सञ्जालमार्फत भएका हुन्।”
उता अफगान सञ्चारमाध्यम TOLO News का अनुसार आक्रमण नान्गारहार प्रान्तस्थित एक आवासीय घरमा परेको थियो। सो घरमा रहेका एकै परिवारका २३ जना सदस्य भग्नावशेषमा पुरिएको जनाइएको छ। अहिलेसम्म चार जनालाई मात्र जीवित उद्धार गरिएको बताइएको छ। आक्रमण भएको बेला परिवारका सदस्यहरू सुतिरहेको अवस्थामा थिए, जसका कारण उनीहरूलाई जोगिने अवसर नपाएको उल्लेख गरिएको छ।
अमेरिकास्थित मानव अधिकार संस्था International Human Rights Foundation ले महिला र बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको दाबी गरेको छ। यद्यपि, घटनासम्बन्धी आधिकारिक विवरण भने अझै सार्वजनिक गरिएको छैन।










प्रतिक्रिया दिनुहोस्