प्रतिमा शाही
फागुन ७
सुर्खेत । कर्णालीको माटोबाटै परिवर्तनको उद्घोष गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘कर्णाली परिवर्तन उद्घोष सभा’ सम्पन्न गरेको छ। घोषणापत्र तथा वाचापत्र सार्वजनिक गर्दै आयोजित उक्त सभामा पार्टी सभापति रवि लामिछाने बालेन्द्र शाह (बालेन) का साथै शीर्ष नेता र उल्लेख्य संख्यामा स्थानीय नागरिकको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै बालेन्द्र शाह (बालेन) ले कर्णालीको भौगोलिक मात्र होइन, सामाजिक, आर्थिक र सांस्कृतिक गहिराइ बुझ्ने प्रतिबद्धता व्यक्त गरे। देशकै सबैभन्दा ठूलो ताल रारा ताल, विशाल भूगोल, प्राकृतिक स्रोत र ऐतिहासिक पहिचान बोकेको कर्णालीलाई राज्यले अझै पूर्ण रूपमा नबुझेको उनको भनाइ थियो।
“कर्णालीको गहिराइ नाप्ने मात्र होइन, त्यो गहिराइको पीडा र सम्भावनालाई बुझ्ने राजनीति आवश्यक छ,” उनले भने, “त्यो जिम्मेवारी लिन रास्वपा तयार छ।”
उत्पादन, पूर्वाधार र बजार जोड्ने प्रतिवद्धता
सभामा कर्णालीको कृषि, जडीबुटी र पर्यटन क्षेत्रको सम्भावनालाई विशेष रूपमा उठाइएको थियो। डोल्पाको बहुमूल्य यार्सागुम्बा विश्व बजारमा पुग्ने तर कर्णालीकै स्याउ र मार्सी चामल देशका मुख्य बजारसम्म सहज रूपमा नपुग्नु विडम्बना भएको बालेनको भनाइ थियो।

स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने, सडक तथा यातायात पूर्वाधार सुदृढ गर्ने र कृषिलाई आयआर्जनसँग प्रत्यक्ष जोड्ने योजना पार्टीले अघि सारेको छ।
सभ्यता संरक्षण र पहिचानको सम्मान
कर्णालीको ऐतिहासिक महत्वबारे चर्चा गर्दै उनले सिंजा उपत्यका लाई नेपाली भाषाको उद्गमस्थलका रूपमा स्मरण गरे। खस सभ्यता, स्थानीय भाषा, लिपि, कला, संस्कृति र परम्परालाई संरक्षण गर्दै विकाससँगै पहिचान जोगाउने नीति लिइने उनले बताए।
उनले कर्णालीलाई केवल ‘विकासमा पछाडि परेको क्षेत्र’को रूपमा नभई सम्भावनाले भरिएको सभ्यताको केन्द्रका रूपमा हेर्न आग्रह गरे।
गरिबी बेच्ने होइन, समाधान खोज्ने राजनीति
सभामा कर्णालीमा विद्यमान भोकमरी, बाल मृत्युदर र मातृ मृत्युदरको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। “गरिबीलाई भाषणको विषय बनाउने होइन, समाधानको एजेन्डा बनाउने समय आएको छ,” बालेनले जोड दिए। स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटन प्रवर्द्धनमार्फत कर्णालीको जीवनस्तर उकास्ने लक्ष्य लिइएको जानकारी दिइयो।
‘कर्णालीका सपना अब हाम्रा सपना’
कार्यक्रमको समापन गर्दै उनले कर्णालीवासीसँग सहकार्यको अपिल गरे। “अब कर्णालीका सपना हाम्रा सपना हुन्,” भन्दै उनले कर्णालीबाट सुरु गरिएको परिवर्तन अभियानलाई देशव्यापी बनाउने उद्घोष गरे। रास्वपाले अहिले फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावी प्रचार प्रसार को लागि प्रदेश स्तरीय चुनावी सभालाई व्यापक बनाएको छ हिजो ६ गते सुदुरपश्चिम प्रदेश को धनगढीमा सभा सम्पन्न भएको थियो।
‘कर्णाली परिवर्तन उद्घोष सभा’ मार्फत रास्वपाले कर्णालीलाई केन्द्रमा राखेर समृद्धि, आत्मसम्मान र पहिचानको राजनीति अघि बढाउने संकेत दिएको छ। अब यी प्रतिबद्धता व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्नेमा सबैको नजर रहनेछ। यो फागुन २१ पछिको निर्वाचन मत परिणामले तय गर्ने छ।










प्रतिक्रिया दिनुहोस्