अशाेक
काठमाडौं, ५ माघ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान केन्द्रीय सदस्य डा. आरजु राणालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा भएको निर्णयअनुसार कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई उम्मेदवार बनाइएको हो।
कांग्रेस कैलाली क्षेत्र नम्बर ५ बाट डा. राणासहित नरनारायण शाह, डिल्लीराम पन्त र नृपबहादुर ओडको नाम सिफारिस भएको थियो। तर सभापति थापाले सबै सिफारिस भएका उम्मेदवारलाई पछि पार्दै शाहलाई टिकट दिएका हुन्।
पार्टीभित्र प्रभावशाली नेतृका रूपमा चिनिने डा. आरजु राणालाई टिकट नदिइनु कांग्रेसभित्र नयाँ सन्देशका रूपमा हेरिएको छ। नेतृत्व परिवर्तनपछि कांग्रेसले ‘पुरानो अनुहारभन्दा संगठन र स्थानीय आधार बलियो उम्मेदवार’ लाई प्राथमिकता दिएको विश्लेषण गरिएको छ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताको समय माघ ६ गते तोकिएको छ। कांग्रेसले अधिकांश निर्वाचन क्षेत्रमा अन्तिम चरणमा उम्मेदवार टुंग्याउने रणनीति अपनाइरहेको छ।
कैलाली–५ मा नरनारायण शाहलाई उम्मेदवार बनाउने निर्णयसँगै उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।










प्रतिक्रिया दिनुहोस्