२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

      प्रहरी हिरासतमा रहेका  थुनुवा गंगे सुनारको मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु



 

सुर्खेत, कात्तिक २१ —

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगर–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लागुऔषध कारोबार मुद्दामा ७८ दिनदेखि थुनामा रहेका सुनारलाई शुक्रबार बिहान ५ः५८ बजे ओछ्यानमै बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार साथीसँगै सुतेका सुनारलाई बिहान उठाउँदा प्रतिक्रिया नआएपछि प्रहरीलाई खबर गरिएको थियो ।

“हामीले तुरुन्तै कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि पुर्‍यायौं,” डीएसपी बुढथापाले भने, “तर अस्पतालमा चिकित्सकले मृत घोषित गर्नुभयो ।”
प्रहरीका अनुसार घटनापछि हिरासतमा जडान गरिएको सीसीटीभी फुटेज पनि हेरेको छ । फुटेजमा उनी सुत्नुअघि बाथरुम गएर टाउको नुहाएर बाहिर आएको र राति घुर्ने बानी भएकाले साथीहरूले ‘नघुर्न’ भनेर उठाएको दृश्य देखिएको जनाइएको छ ।
डीएसपी बुढथापाका अनुसार मृतक सुनारको चार दिनअघि मात्र सरकारी वकिल कार्यालयमा मुद्दा पुगेको थियो र आज (शुक्रबार) नै त्यसमा पेसी हुने तय भएको थियो ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेको जनाएको छ । मृतकको शव कर्णाली प्रदेश अस्पतालमै पोस्टमार्टमका लागि राखिएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार