अशाेक कु शाही
२०८२ भदाै १४ गते
सुर्खेत।
सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र नैतिकता विपरीतका उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले १० जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगरका विभिन्न होटल तथा रेस्टुरेन्टबाट होटल सञ्चालकसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, वीरेन्द्रनगर नगरपालिका–६ मा सञ्चालित भुमिका रेस्टुरेन्ट एण्ड लज, आँगन होटल र सुरेश होटलमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भुमिका रेस्टुरेन्ट एण्ड लजका सञ्चालक दैलेख, नौमुले गाउँपालिका–१ का ५२ वर्षीय भक्ति राम जैशी र सुरेश होटलकी सञ्चालक जाजरकोट, जुनिचाँदे–९ की ३४ वर्षीया देविका शाही पनि छन्। उनीहरूसँगै अन्य आठ जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले सार्वजनिक हित र स्वास्थ्य सुरक्षामा असर पुर्याउने किसिमका गतिविधिमा संलग्न रहेको प्रमाण फेला परेको छ। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।
यो घटनाले सार्वजनिक स्थानमा हुने गैरकानुनी तथा अनैतिक गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाइरहेको देखाएको छ।










प्रतिक्रिया दिनुहोस्