२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

सुर्खेतमा रोजगारीको प्रलोभनमा करोडौं ठगी, आठ जना सञ्चालक तथा कर्मचारीविरुद्ध जाहेरी



 

वीरेन्द्रनगर, सुर्खेत –

वीरेन्द्रनगर नगरपालिका वडा नं. ३, मुलपानी चोकमा रहेको स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि. नामक संस्थाले ग्लोबल ओरियन्स नेपाल प्रा. लि. सँगको सहकार्यमा विभिन्न जिल्लाका बेरोजगार युवायुवतीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

ठगी गरेको भन्दै पीडितहरूले कम्पनीका आठ जना सञ्चालक तथा कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका छन्।
पीडितहरूका अनुसार स्काई ड्रिम इन्टरप्रेनर्सले वार्षिक रु.२०,०००/- शुल्क लिएर खाना र बस्नको व्यवस्था गरी बेरोजगार युवाहरूलाई घर भाडाको कोठामा राखेको थियो। त्यसपछि उनीहरूलाई नेटवर्किङ मार्केटिङमा संलग्न गराई विभिन्न प्रलोभन देखाइएको थियो।

आफू मातहत नयाँ सदस्यहरूलाई आबद्ध गराएमा राम्रो आम्दानी हुने भन्दै प्रत्येक व्यक्तिबाट रु.५०,०००/- देखि २,६०,०००/- सम्म रकम जम्मा गर्न लगाइएको जाहेरीमा उल्लेख छ।
पीडितहरूले स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि. र ग्लोबल ओरियन्स नेपाल प्रा.लि. का सञ्चालक तथा कर्मचारीहरूले उनीहरूबाट करोडौं रुपैयाँ ठगी गरेको दाबी गरेका छन्। उनीहरूले ठगीमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको जाहेरी अनुसार ठगीमा संलग्न रहेका व्यक्तिहरूको नाम र ठेगाना यस प्रकार छ:
१. नरेश बोहोरा: वर्ष २६, संचालक, स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि., सायल गा.पा वडा नं. २, जिल्ला डोटी, हाल: वीरेन्द्रनगर न.पा., सुर्खेत।
२. कृष्ण धामी: वर्ष २४, व्यवस्थापक/कर्मचारी, स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि., महाकाली गा.पा वडा नं. ४, जिल्ला दार्चुला, हाल: वीरेन्द्रनगर न.पा., सुर्खेत।
३. कमल शाही: वर्ष २४, व्यवस्थापक/कर्मचारी, स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि., कमल बजार न.पा ६, जिल्ला अछाम, हाल: वीरेन्द्रनगर न.पा., सुर्खेत।
४. रबिन्द्र शाही: वर्ष २२, व्यवस्थापक/कर्मचारी, स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि., कमल बजार न.पा ६, जिल्ला अछाम, हाल: वीरेन्द्रनगर न.पा., सुर्खेत।
५. मनिषा सिंह: वर्ष २२, व्यवस्थापक/कर्मचारी, स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि., महाकाली नगरपालिका वडा नं. २, जिल्ला कन्चनपुर, हाल: वीरेन्द्रनगर न.पा., सुर्खेत।
६. निर्मला धामी: वर्ष २१, कर्मचारी, स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि., बेल्डाडी गा.पा वडा नं.१, जिल्ला कन्चनपुर, हाल: वीरेन्द्रनगर न.पा., सुर्खेत।
७. सुनिता साउद: वर्ष २२, कर्मचारी, स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि., सिगास गा.पा वडा नं. ६, जिल्ला बैतडी, हाल: वीरेन्द्रनगर न.पा., सुर्खेत।
८. कमला चिमालाय: वर्ष २२, कर्मचारी, स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि., बडिकेदार गा.पा वडा नं.४, जिल्ला डोटी, हाल: वीरेन्द्रनगर न.पा., सुर्खेत।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ताले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्। पीडितहरूले आफूहरू ठगीमा परेको भन्दै न्यायको लागि अपिल गरेका छन्। यो घटनाले फेरि एकपटक बेरोजगार युवाहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको देखाएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग पीडितहरूको छ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार