अशाेक शाही
२०८२ साउन २ गते
सुर्खेत प्रहरीले बिरेन्द्रनगरको कालिन्चोक क्षेत्रबाट ठूलो मात्रामा लागुऔषध र हतियार सहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार, गोप्य सूचनाको आधारमा बुधबार राति ९ बजे बिरेन्द्रनगर नगरपालिका वडा नं. ८ स्थित कृष्णमन्दिर क्षेत्रमा छापा मार्दा २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई शंकास्पद अवस्थामा फेला पारिएको हो।
प्रहरीले उनीहरुको शरीर र कोठा खानतलासी गर्दा १४६ पत्तामा रहेको १४२६ ट्याब्लेट औषधीजन्य लागुऔषध बरामद गरेको छ। बरामद गरिएको लागुऔषधमा ट्रमाडोल जस्तो देखिने ८९९ वटा ट्याब्लेट, स्पास्मो ट्रमाडोल जस्तो देखिने १२८ वटा ट्याब्लेट र नाइट्रोजेपाम जस्तो देखिने ३९९ वटा ट्याब्लेट रहेका छन्।
त्यसैगरी, प्रहरीले उनीहरुको कोठाबाट लुकाएर राखेको एक थान सेमी अटोमेटिक चाइनिज पेस्तोल, दुई थान म्यागजिन, १२ राउण्ड गोली, विभिन्न आकारका चार थान खुकुरी, दुई थान चक्कु, एक थान कुलाडी (बन्चरो), एक थान नाईनस्टिक, एक थान कैंची र जरायोको जस्तो देखिने एक थान सिङ बरामद गरेको छ।
पक्राउ परेका विधान शाही यसअघि २०७८ सालमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै जनालाई हातहतियार, लागुऔषध र वन्यजन्तु ओखेटोपहार सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ। यो घटनाले बिरेन्द्रनगरमा लागुऔषध र अवैध हतियारको कारोबार बढ्दै गएको संकेत गरेको छ।














प्रतिक्रिया दिनुहोस्