२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

सरकारी कार्यालयका सोधपुछ नम्बर प्रयोगविहीन हुँदा नागरिक मर्कामा, गुनासो र जिज्ञासा राख्न समस्या



काठमाडौं असार २० गते ।

समाचार सारांश
Generated Using AI
  • नागरिकले समस्या, गुनासो वा अन्य जानकारीका लागि ती नम्बरहरुमा फोन गर्दा अधिकांश नम्बरहरु कि त अफ गरिएको छ, कि त फोन नै उठ्दैन । यसले गर्दा सेवाग्राहीहरु अन्योलमा परेका छन्
  • शिक्षा, स्वास्थ्य, यातायात लगायतका अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालयका नम्बरहरु समेत नियमित रुपमा नचल्दा नागरिकहरुले सास्ती खेप्नु परेको छ ।
  • यस विषयमा सम्बन्धित सरकारी अधिकारीहरुसँग बुझ्न खोज्दा उनीहरुले भने
  • सूचना प्रविधिको विकास भइरहेको वर्तमान समयमा सरकारी कार्यालयहरुले नागरिकलाई सहज सेवा प्रदान गर्नुपर्नेमा यस्तो अवस्था आउनु दुःखद हो ।

मुलुकभरका सरकारी कार्यालयहरुले नागरिकको सहजताका लागि सार्वजनिक गरेका सोधपुछ तथा गुनासो नम्बरहरु प्रयोगविहीन भएका छन् ।

नागरिकले समस्या, गुनासो वा अन्य जानकारीका लागि ती नम्बरहरुमा फोन गर्दा अधिकांश नम्बरहरु कि त अफ गरिएको छ, कि त फोन नै उठ्दैन । यसले गर्दा सेवाग्राहीहरु अन्योलमा परेका छन् भने सरकारी कार्यालयप्रति नागरिकको निराशा बढ्दै गएको छ ।

विभिन्न सरकारी निकायले आफ्ना वेबसाइट तथा सूचना पाटीहरुमा नागरिक सहायताका लागि टेलिफोन नम्बरहरु उल्लेख गरेका हुन्छन् । तर, वास्तविकतामा ती नम्बरहरु देखावटी मात्रै भएको सेवाग्राहीहरुको गुनासो छ ।

खासगरी दूरदराजबाट आएका नागरिकहरुलाई यो समस्याले बढी सताएको छ । सरकारी कामको सिलसिलामा विभिन्न कार्यालय धाइरहेका उनीहरुलाई आवश्यक जानकारी लिन समेत कठिनाइ भइरहेको छ ।

कालिकोटबाट वीरेन्द्रनगर आएका रामबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा दिइएको सोधपुछ नम्बरमा पटकपटक फोन गर्दा पनि सम्पर्क हुन नसकेको बताए । “कामै नहुने नम्बर किन राखेको होला? एउटा सानो जानकारी लिन पनि कार्यालयमै पुग्नुपर्ने बाध्यता छ,” उनले गुनासो गरे ।

यस्तै समस्या अन्य सेवाग्राहीले पनि भोगिरहेका छन् । शिक्षा, स्वास्थ्य, यातायात लगायतका अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालयका नम्बरहरु समेत नियमित रुपमा नचल्दा नागरिकहरुले सास्ती खेप्नु परेको छ ।
यस विषयमा सम्बन्धित सरकारी अधिकारीहरुसँग बुझ्न खोज्दा उनीहरुले भने यसलाई गम्भीर रुपमा नलिएको पाइएको छ ।

कतिपय कर्मचारीहरुले नम्बर बिग्रिएको वा प्राविधिक समस्या भएको भन्दै पन्छिने गरेको सेवाग्राहीहरुको भनाइ छ । तर, महिनौंसम्म पनि ती नम्बरहरु सुचारु नहुँदा कर्मचारीहरुको गैरजिम्मेवारीपन प्रष्ट देखिन्छ ।

सरकारी कार्यालयका यी सम्पर्क नम्बरहरु नागरिक र सरकारबीचको पुलको रुपमा काम गर्दछन् । यदि यी नम्बरहरु नै प्रयोगविहीन भए भने नागरिकले आफ्नो गुनासो कहाँ राख्ने? कसरी समस्याको समाधान खोज्ने? यो प्रश्न गम्भीर बनेको छ ।

सूचना प्रविधिको विकास भइरहेको वर्तमान समयमा सरकारी कार्यालयहरुले नागरिकलाई सहज सेवा प्रदान गर्नुपर्नेमा यस्तो अवस्था आउनु दुःखद हो ।

यस विषयमा नागरिक समाजका अगुवाहरुले पनि चिन्ता व्यक्त गरेका छन् । उनीहरुका अनुसार सरकारले तत्काल यस विषयमा ध्यान दिई सबै सरकारी कार्यालयका सोधपुछ तथा गुनासो नम्बरहरु नियमित रुपमा सञ्चालन हुने व्यवस्था मिलाउनुपर्छ ।

साथै, ती नम्बरहरुमा फोन गर्ने सेवाग्राहीको समस्यालाई तत्काल सम्बोधन गर्ने संयन्त्र पनि बनाउन आवश्यक छ ।
यदि सरकारी कार्यालयहरुले नागरिकको गुनासो सुन्ने र समस्या समाधान गर्नेतर्फ ध्यान दिएनन् भने यसले नागरिक र सरकारबीचको सम्बन्धमा थप दरार ल्याउने निश्चित छ ।

आशा गरौं, सम्बन्धित निकायले यस विषयलाई गम्भीरतापूर्वक लिई नागरिकको समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नेछ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार