सुर्खेत असार ९ गते
अशाेक शाही
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतमा भएको २५ लाख रुपैयाँभन्दा बढीको अनियमितता प्रकरणमा तीन जनालाई भ्रष्टाचार मुद्दा चलाएको छ।
आयोगले अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैङ्कको एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारको अनुसन्धान अनुसार, अस्पतालको सामाजिक सेवा एकाइमा कार्यरत कम्प्युटर अपरेटर शाहीले बिरामीहरूको दर्ता गर्ने क्रममा बिलिङ काउन्टरमा अनधिकृत पहुँच पुर्याई रकम उठाएकी थिइन्।
तर उनले २०८० साउनदेखि २०८१ जेठसम्म उठाएको ३४ लाख ३ हजार ८५६ रुपैयाँमध्ये २५ लाख ६७ हजार ५२६ रुपैयाँ बैंकमा जम्मा नगरी हिनामिना गरेको अख्तियारको दाबी छ।
अख्तियारले लेखा अधिकृत सुवेदी, अपरेटर शाही र बैंककी काउन्टर प्रमुख सिंजाली मगरको मिलेमतोमा उक्त भ्रष्टाचार भएको ठहर गरेको छ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको आयोगले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्