२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

बालेनको चुनावी अभियानमा अछाम पुगेका पत्रकारको उपचारका क्रममा मृत्यु



काठमाडौं ।

चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। मस्तिष्कमा एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) भएपछि गम्भीर अवस्थामा उपचाररत रहेका सिटौलालाई आज दिउँसो १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

अछाममा रहेका बेला अचानक बेहोश भएर ढलेपछि सिटौलालाई शुक्रबार उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनलाई ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी र दुई दाजुभाइ रहेका छन्। उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ।

चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसार तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका थिए। चलचित्र पत्रकारितामा सक्रिय रहँदै उनले नेपाली फिल्म उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन भूमिका खेलेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा सिटौला उनको टोलीसँगै अछाम पुगेका थिए। सोही क्रममा उनी अस्वस्थ भई ढलेपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो।

उनको निधनप्रति पत्रकारिता क्षेत्र, चलचित्रकर्मी तथा राजनीतिक वृत्तले गहिरो शोक व्यक्त गरेका छन्। सिटौलाको असामयिक निधनले नेपाली पत्रकारिता र चलचित्र क्षेत्रले एक सक्रिय र अनुभवी व्यक्तित्व गुमाएको छ।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार