देपेन्द्र बहादुर शाही
काठमाडौं
केही समयअघि राष्ट्रिय समाचार समिति (रासस) बाट प्रसारित एउटा गलत समाचारले अन्तर्राष्ट्रिय स्तरमा ठूलो भ्रम सिर्जना गरेको छ।
यो समाचारले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीको निधन भएको भन्ने झुटो दाबी गरेको थियो। यसै गलत सूचनालाई भारतीय चर्चित युट्युबर ध्रुव राठीले पनि आफ्नो भिडिओमा मृत्यु भएकाे सामाग्री प्रयोग गरेपछि यो विषयले थप चर्चा पाएको हो।
ध्रुव राठीले ‘What’s REALLY Happening in Nepal?’ शीर्षकमा बनाएको भिडिओमा नेपालमा भएको प्रदर्शनबारे विभिन्न गलत जानकारीहरू दिएका छन्। उक्त भिडिओमा उनले प्रदर्शनका क्रममा तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई कुटपिट गरिएको र पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीको निधन भएको जस्ता निराधार कुराहरू प्रस्तुत गरेका छन्।
वास्तवमा, भिडिओमा अर्थमन्त्रीलाई कुटिएको भनी देखाइएको दृश्य ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन र प्रहरी हवल्दार चक्रबहादुर कटुवाललाई प्रदर्शनकारीहरूले कुटेकाे पुष्टि भएकाे छ ।
यसबाहेक, सबैभन्दा गम्भीर त्रुटि भने झलनाथ खनालकी पत्नी रबिलक्ष्मी चित्रकारको मृत्यु भएको भन्ने दाबी गरिएकाे छ । प्रदर्शनकारिहरुले घरमा आगजनी गर्दा घाइते भएकि चित्रकारकाे हाल उपचार भैरहेकाे छ ।
कसरी फैलियो यो भ्रम?
यो भ्रामक समाचारको मुख्य स्रोत राष्ट्रिय समाचार समिति (रासस) रहेको पाइएको छ। राससले प्रसारित गरेको गलत समाचारलाई आधार बनाएर लोकान्तर र थाहा खबर लगायतका केही नेपाली अनलाइन सञ्चार माध्यमहरूले पनि प्रकाशित गरेका थिए। पछि, यो समाचार झुटो भएको पुष्टि भएपछि उनीहरूले क्षमा याचना गर्दै उक्त सामग्री हटाएका छन्।
ध्रुव राठीले आफ्नो भिडिओमा भारतीय सञ्चार माध्यम ‘द मिन्ट’ लाई स्रोतकाे रूपमा उल्लेख गरेका छन्। ‘द मिन्ट’ले भने नेपाली अनलाइन ‘खबरहब’ लाई उद्धृत गरेको थियो। तर, ‘खबरहब’ को वेबसाइटमा यस्तो कुनै समाचार हाल भेटिँदैन ।
सामाजिक सञ्जालमा भाइरल भएका यी गलत भिडिओ र समाचारकै आधारमा एनडीटीभी, टाइम्स अफ इन्डिया, र गल्फ न्युज जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि तत्कालीन अर्थमन्त्री विष्णु पौडेल कुटिएको भनी भ्रामक समाचार प्रकाशित गरेका थिए।
यस घटनाले सञ्चार माध्यमहरूले समाचारको सत्यता जाँच नगरी प्रकाशित गर्दा कति ठूलो भ्रम सिर्जना हुन सक्छ भन्ने देखाउँछ।
यो घटनाले जिम्मेवार पत्रकारिता र तथ्य जाँचको महत्त्वलाई पुनः उजागर गरेको छ।
विशेषगरी, ठूला समाचार संस्था र प्रभावशाली युट्युबरहरूले कुनै पनि समाचार प्रसारण गर्नुअघि त्यसको स्रोत र सत्यताको गहिरो जाँच गर्नु आवश्यक हुन्छ।
शृङ्खला रासस बाट फैलियो भन्ने स्पष्ट पार्दछ ।










प्रतिक्रिया दिनुहोस्