विराटनगर –
एक युवाले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्वव थापाको नाकको डाँडी भाँचेका छन् । नेपाली कांग्रेस कोशी प्रदेश सभापतिसमेत रहेका थापामाथि शनिबार साँझ गृहजिल्ला झापामा आक्रमण भएको हो ।
नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर फकिँदै गरेका थापामाथि जामुनबारी चोकस्थित जुकेखाडी नजिकै आक्रमण भएको कांग्रेस झापा सचिव कृष्ण हुमागाईँले बताए। थापा बा १ झ ६५३ नम्बरको गाडीमा सवार थिए । थापासँगै गाडीमा रहेका हुमागाईंका अनुसार बा १ ञ १८७० का चालक भक्त कटवालले आक्रमण गरेका हुन् ।
‘हामी साधारणसभाबाट फर्किदैँ थियौँ,’ हुमागाईँले फोनमा भने, ‘बाटोमा गाडीले छेकिरहेपछि साइड दिनका लागि रिक्वेस्ट गर्यौँ। साइड नदिएपछि हामी साइड लिएर अगाडि बढिरहेका थियौँ। अचानक स्पिडमा ल्याएर अगाडि बाटो छेकेपछि सभापतिज्यूले पुनः साइड दिन आग्रह गर्नुभयो। यसै बेला अचानक बक्सिङले हिर्काए।’
कटवाल झापाकै शिवसताक्षी ११ निवासी रहकेको बताइएको छ। कटवालले दाहिने हातको बक्सिङले हिर्काउँदा थापाको नाक र देब्रे आँखाको माथिपट्टि चोट लागेको छ। कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।










प्रतिक्रिया दिनुहोस्