२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

श्रीमतीको हत्या पछि श्रीमानले आफूमाथि गोली चलाए



कैलाली,

कैलाली जिल्लामा पारिवारिक विवादले भयावह रूप लिँदा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

गोदावरी नगरपालिका–४ अमलेशैनीका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी २८ वर्षीया श्रीमती संजिता मगरमाथि गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
श्रीमान्–श्रीमतीबीच भएको विवाद चर्किएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीमाथि गोली प्रहार गरेका थिए। गोली लागेपछि संजिताको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटना घरदेखि करिब तीन घण्टाको पैदल दूरीमा रहेको घना जंगल क्षेत्रमा भएको प्रहरीको भनाइ छ। दुर्गम र सञ्चार सम्पर्क नभएको क्षेत्र भएकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

गोदावरी प्रहरी कार्यालयका डीएसपी रणबहादुर चन्दका अनुसार घटनापछि रामबहादुरले सोही बन्दुक प्रयोग गरी आफूमाथि पनि गोली चलाएका थिए। गम्भीर घाइते अवस्थामा रहेका उनलाई उद्धार गरी सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको गरे उनको उपचार भइरहेको छ।

प्रहरीका अनुसार श्रीमतीको हत्या गरेपछि उनले आफ्ना आफन्त (अंकल नाता पर्ने व्यक्ति) लाई फोन गरी “मैले श्रीमतीलाई गोली हानेर मारिसकेँ, अब म पनि मर्छु होला, हाम्रो भेटघाट यत्तिमै सकियो” भन्दै जानकारी गराएका थिए। त्यसपछि आफन्तहरू खोजीमा निस्कँदा उनी घरदेखि करिब तीन घण्टाको दूरीमा घाइते अवस्थामा फेला परेका थिए।

उता, मृतक संजिताका माइती पक्षले आफूहरू नपुग्दासम्म शव नउठाउन आग्रह गरेपछि हालसम्म शव घटनास्थलमै राखिएको प्रहरीले डिएसपी चन्दले जानकारि दिनु भएकाे छ ।

प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार