२०८२ फागुन २७ , बुधबार
ताजा अपडेट:

साम्बा’लाई नेपालीको साथ : २४ घण्टामै १.५ करोडभन्दा बढी सहयोग, उपचार खर्च पुग्ने भएपछि सहयोग रोक्न आग्रह



अशाेक

फागुन १२
काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले खुट्टाको शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेको २४ घण्टाभित्रै देश–विदेशबाट १ करोड ५० लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ।
उपचारका लागि सहयोग आवश्यक रहेको जानकारी सार्वजनिक गरेलगत्तै समर्थक, खेलप्रेमी, संघ–संस्था तथा प्रवासी नेपाली समुदायबाट उल्लेखनीय रकम संकलन भएको हो। नेपालस्थित बैंक खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (झण्डै ५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी साम्बाले दिएकी छन्।
छोटो समयमै प्राप्त भएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै उनले ‘धन्यवाद’ शब्द नै सानो भएको उल्लेख गरेकी छन्। “आर्थिक रूपमा मात्र होइन, तपाईंहरूको विश्वास र मायाले मलाई अझ बलियो बनाएको छ,” उनले सन्देशमा लेखेकी छन्।
उपचार खर्च पर्याप्त भएपछि खातामा रकम रोक्न आग्रह
संकलित रकमले शल्यक्रिया, पुनर्स्थापना तथा उपचारका क्रममा विदेशमा बसोबास, आवास र यातायात खर्चसमेत धान्ने देखिएको साम्बाको भनाइ छ। विभिन्न संघ–संस्था र प्रायोजकहरूले समेत थप नगद तथा सुविधा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उपचार खर्च पुग्ने सुनिश्चित भएपछि उनले दुवै खातामा अब थप सहयोग रकम जम्मा नगर्न आग्रह गरेकी छन्।
क्लबको साथ, पुनरागमनको अठोट
हाल Wellington Phoenix FC सँग आबद्ध साम्बाको शल्यक्रिया र पुनर्स्थापनाका लागि क्लबले विमा रकम निकासा गरी थप सहजीकरण गरिरहेको बताइएको छ। शल्यक्रियाको मिति चाँडै तय हुने अपेक्षा गरिएको छ।
चोटले आफूलाई शारीरिकसँगै मानसिक रूपमा पनि थकाएको स्वीकार्दै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताएकी छन्। अझ मजबुत भएर मैदानमा फर्किने अठोट व्यक्त गर्दै उनले पुनः नेपालको जर्सी लगाएर देशका लागि खेल्ने प्रतिबद्धता दोहोर्‍याएकी छन्।
साम्बाप्रति देखिएको नेपालीको ऐक्यबद्धता केवल आर्थिक सहयोगमा सीमित नभई राष्ट्रिय खेलकुदप्रतिको सामूहिक भावनाको प्रतीक बनेको छ। अब सबैको ध्यान उनको सफल शल्यक्रिया र छिटो पुनरागमनतर्फ केन्द्रित छ।

प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार