कञ्चनपुर –
देपेन्द्र बहादुर शाही, कञ्चनपुर क्षेत्र नम्बर १ का प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार, ले बेलौरी–सीमा क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि ठोस पहल गर्ने घोषणा गरेका छन्। उनले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले दैनिक रूपमा भोग्दै आएका जाँच–तलासी, आवतजावतको अवरोध तथा आधारभूत सेवा अभावका विषयलाई प्राथमिकतामा राख्ने बताएका हुन्।
बेलौरी आसपासका बासिन्दाले खानेपानी, बिजुली, सडक, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाबाट पूर्ण रूपमा लाभ लिन नसकेको उल्लेख गर्दै शाहीले दुवै देशबीच आवश्यक कूटनीतिक समन्वय गरी सीमा व्यवस्थापनलाई व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे। राति अबेर आवतजावत गर्दा बैरिकेडका कारण सर्वसाधारणले सास्ती खेप्नु परिरहेको भन्दै उनले समस्या समाधानका लागि पहल थाल्ने बताए।
सीमा क्षेत्रको आर्थिक सक्रियता बढाउन बेलौरी नाकामा भन्सार कार्यालय स्थापना अपरिहार्य रहेको शाहीको भनाइ छ। यसले आयात–निर्यातलाई व्यवस्थित गर्नुका साथै राजस्व संकलनमा वृद्धि हुने विश्वास व्यक्त गरिएको छ। साथै स्थानीय कृषकले उत्पादन गर्ने आलु लगायतका कृषि उपजको संरक्षण र उचित मूल्य सुनिश्चित गर्न शीत भण्डार (कोल्ड स्टोर) निर्माण गरिने उनले बताए।
पूर्वाधार र पर्यटन विकासमा जोड
सीमा क्षेत्रको समग्र विकासका लागि सडक, पुल, स्वास्थ्य संस्था र बजार पूर्वाधार विस्तारमा विशेष ध्यान दिइने जनाइएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास पर्यटन पूर्वाधार विस्तार गरी रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने योजना अघि सारिएको छ। निकुञ्ज क्षेत्रको सम्भावनालाई उपयोग गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिइने शाहीले बताएका छन।
युवालाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा संलग्न गर्न आधुनिक तथा व्यावसायिक खेल मैदान निर्माण गरिने घोषणा समेत गरेका छन। पर्याप्त खेल पूर्वाधार अभावका कारण प्रतिभाशाली युवाहरू अन्यत्र जान बाध्य भएको उल्लेख गर्दै उनले खेल क्षेत्रको बजेट वृद्धि गरी राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सक्ने संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
शाहीले सीमा क्षेत्रको समृद्धि र विकासलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै भन्सार, कृषि भण्डारण, पूर्वाधार, पर्यटन र खेल क्षेत्रको समग्र सुधारका लागि सम्बन्धित निकायसँग समन्वय गरी योजनाबद्ध रूपमा काम अघि बढाइने स्पष्ट पारे।










प्रतिक्रिया दिनुहोस्