२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

सरकारद्वारा २ मिलियन डलर अनुदान सहायता स्वीकार, जाँचबुझ आयोगको म्याद २० दिन थप



 

दिपेन्द्र बहादुर शाही
काठमाडौं, ८ माघ

सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडक खण्ड आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंक (AIIB) बाट उपलब्ध हुने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार अनुदान रकम आयोजनाको प्रारम्भिक तयारी, अध्ययन तथा आवश्यक पूर्वाधार विकासमा खर्च गरिनेछ।
यसैगरी मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते भएका घटनाको छानविनका लागि गठन गरिएको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय पनि गरेको छ।

भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानविन गरी प्रतिवेदन पेश गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगले काम सम्पन्न गर्न नसकेपछि म्याद थप गरिएको गृहमन्त्री अर्यालले बताए।
सरकारले आयोगको प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिने जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार