अशाेक
५ माघ २०८२, सोमबार
काठमाडौँ। विप्लव नेतृत्वको नेकपा (माओवादी) ले स्थायी कमिटीका सदस्यहरू निर्वाचनमा सहभागी नहुने निर्णयलाई लिएर बाहिर चर्चा भए पनि पार्टी स्रोतले यसलाई एकाएकको ‘युटर्न’ नभई पहिल्यै तय गरिएको राजनीतिक रणनीति भएको स्पष्ट पारेको छ।
गएराति बसेको स्थायी कमिटी बैठकले महासचिव विप्लवसहित स्थायी कमिटीका कुनै पनि सदस्यलाई उम्मेदवार नबनाउने निर्णय गरेको हो। पार्टीका अनुसार यो निर्णय चुनावी प्रक्रियामा नयाँ पुस्ताका नेता अघि सार्ने र संगठनलाई जरोबाट सुदृढ गर्ने दीर्घकालीन योजनाअन्तर्गत लिइएको हो।
नेकपा (माओवादी) ले यसअघि पहिलोपटक संसदीय निर्वाचनमा सहभागी हुने निर्णय गर्दै निर्वाचन आयोगमा दर्ता भइसकेको छ। गुलाफ चुनाव चिन्ह पाएको पार्टीले समानुपातिकतर्फको बन्द सूचीसमेत बुझाइसकेको छ। मनोनयन दर्ताको दुई दिनअघि स्थायी कमिटी सदस्यहरू चुनावमा नजाने निर्णय सार्वजनिक भएपछि यसलाई ‘युटर्न’को रूपमा व्याख्या गरिए पनि पार्टी नेतृत्वले त्यसलाई अस्वीकार गरेको छ।
पार्टी स्रोतका अनुसार, “महासचिव विप्लव रोल्पाबाट चुनाव लड्ने तयारीमा देखिए पनि संगठनभित्र पहिल्यैदेखि स्थायी कमिटीका नेताहरू प्रत्यक्ष चुनावमा नजाने सहमति थियो। अब पोलिटब्युरो सदस्यदेखि तल्ला तहका नेताहरू उम्मेदवार बन्नेछन्।”
स्थायी कमिटीको निर्णयपछि थप रणनीति तय गर्न पोलिटब्युरो बैठक बस्ने तयारी भइरहेको छ। प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते हुने तय भइसकेको छ।
पार्टीले यो निर्णयलाई संसदीय अभ्यास र क्रान्तिकारी राजनीतिबीच सन्तुलन खोज्ने योजनाबद्ध कदमको रूपमा व्याख्या गरेको छ।










प्रतिक्रिया दिनुहोस्