२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

जेन जी आन्दोलनमा प्रहरीको गोली, चार जनाको मृत्यु



अशाेक कुमार शाहि

काठमाडौं —

सरकारले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सोमबार अपरान्हसम्म काठमाडौंमा चार जनाको मृत्यु भएको छ। दुई ठूला अस्पतालले यसको पुष्टि गरेका छन्।
नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीका अनुसार सो अस्पतालमा दुई जनाको मृत्यु भएको छ। मृतकहरूमध्ये एक जना ३५ देखि ४० वर्ष उमेर समूहका पुरुष र अर्का एक जना २० देखि २५ वर्षका युवा छन्।
यसैगरी, महाङ्कालस्थान नजिकै रहेको ट्रमा सेन्टरमा पनि दुई जनालाई मृत अवस्थामा ल्याइएको सो अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले जानकारी दिए।
डा. रिजालका अनुसार प्रदर्शनका क्रममा घाइते भएका ३० जनाभन्दा बढीलाई ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको छ। तीमध्ये केही घाइतेको अवस्था चिन्ताजनक रहेको उनले बताए।
सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विषयलाई लिएर काठमाडौंलगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्। प्रदर्शनकारीहरूले सरकारको यस निर्णयको विरोध गर्दै प्रतिबन्ध तत्काल फिर्ता लिन माग गरेका छन्।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार