२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

अछाममा पहिरोको त्रास : निम देवी खनाल र ७ वर्षीया बालिकाको निधन, आमा गम्भीर घाइते



२०८२ भदौ १३

अछाम

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–८ वारला शेलापानी चुर्कुलीमा गएराति भिरबाट खसेको ढुंगाले दुःखद घटना निम्त्याएको छ। राति करिब २ बजे भएको उक्त घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छन्।

मृत्यु हुनेमा स्थानकी ३५ वर्षीया निमा खनाल र मंगलसेन नगरपालिका–६ तेसिङ्गेकी ७ वर्षीया कविता भण्डारी रहेको अछाम प्रहरीले जनाएको छ। घटनामा कविताकी आमा रत्नकला भण्डारी गम्भीर घाइते भएकी छन्।

रत्नकला आफ्नै माइतीघर वारला चुर्कुली आएकी थिइन्। उनी छोरीसँगै त्रिपाल टाँगिएको अस्थायी टहरामै बसिरहेकी बेला माथिबाट ठूलो ढुंगा खसेर दुर्घटना भएको हो। घटनास्थलमै निम देवी खनाल र कविता भण्डारीको ज्यान गएको छ भने रत्नकलाको टाउकोमा गम्भीर चोट लागेकाले तत्काल उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

छाउपडी र असुरक्षित बासस्थानको जोखिम

ग्रामीण क्षेत्रमा अझै पनि छाउपडी वा असुरक्षित टहरामा बस्ने प्रथा व्यापक छ। महिलाहरू महिनावारी वा विशेष अवस्थामामा घरभन्दा टाढा गोठ वा टहरामा बस्न बाध्य हुने परम्परा अझै अन्त्य भएको छैन। यस्ता असुरक्षित बासस्थानले प्राकृतिक विपद्का बेला घातक नतिजा निम्त्याउने क्रम दोहोरिइरहेको छ।

यसअघि पनि अछाम, बाजुरा र कालिकोटमा छाउपडी गोठमै महिलाको मृत्यु हुने घटना धेरै पटक भएको छ। चिसो, सर्पदंश, धुवाँ वा पहिरो—यी सबै कारण बनेर महिलाले अनाहकमा ज्यान गुमाइरहेका छन्।

गाउँमा शोक छाएको

राति अन्धकारमै घटेको यस घटनाले वारला चुर्कुली गाउँ शोकमा डुबेको छ। मृतक आत्माको चीरशान्ति र शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना स्थानीयले गरेका छन्।

साथै, उनीहरूले छाउपडी जस्तो हानिकारक संस्कार र असुरक्षित बासस्थान अन्त्य गर्दै सुरक्षित जीवन सुनिश्चित गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार