मिति: २४ चैत्र २०८१, सोमबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
सुर्खेतमै थन्किय बिकट कर्णालिका पाठ्यपुस्तक – Darsan Nepal
स्थानीय

सुर्खेतमै थन्किय बिकट कर्णालिका पाठ्यपुस्तक

सुर्खेत ।

जनक शिक्षा सामग्री केन्द्रले यही १२ र १३ गते हुम्ला र मुगुका पुस्तक व्यवसायीलाई कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक लिनका लागि सूचना प्रकाशित गर्‍यो । हुम्लाका केही व्यवसायीले पाठ्यपुस्तक खरिद गरेर लिए पनि मुगुबाट कोही पनि सम्पर्कमा आएनन् ।

जसका कारण मुगुमा अहिलेसम्म एक सेट पनि किताब जान सकेको छैन । त्यस्तै जाजरकोटका लागि चैत १८ देखि १९ गते सूचना जारी भए पनि किताब लिन कोही पनि व्यवसायी सम्पर्कमा आएका छैनन् ।

कालीकोट, डोल्पा र जुम्लामा पनि बढीमा १ हजारदेखि १५ सय सेट मात्र किताब गएको छ । जबकी ती जिल्लामा कम्तीमा ३ हजारदेखि ५ हजार सेट किताब आवश्यक पर्छ । केन्द्रले प्रदेशभरी पाठ्यपुस्तक वितरण गर्न ८९ वटा पुस्तक पसललाई सूचीकृत गरेको छ । तर अझै पनि १०/१२ वटाबाहेक अन्य व्यवसायी पुस्तक खरिद गर्न नआएको केन्द्रका प्रादेशिक प्रमुख भैरववावु पन्तले बताए ।

बिक्रेता नै नआउँदा किताबजति सुर्खेतमै थन्किए, केन्द्रबाट किताब किनेका बिक्रेताले पनि किताब जिल्लामा लैजान सुरु गरेका छैनन्, उनले भने, एक हप्ताभित्र सबै किताब नउठे भर्ना अभियानमा विद्यार्थीले किताब पाउन मुस्किल हुन्छ ।

उनका अनुसार आगामी शैक्षिक सत्रका लागि सुर्खेतबाट २५ हजार सेट किताब वितरणको लक्ष्य भए पनि बढीमा ८ हजार सेट मात्र किताब उठेको छ । कर्णालीका पहाडी जिल्लामा पनि बढीमा ६ सयभन्दा बढी किताब गएका छैनन् । पाठ्यपुस्तकका लागि स्थानीय तहहरुले विद्यालयको खातामा रकम नपठाउँदा व्यवसायीले किताब लिन नमानेको केन्द्रले जनाएको छ ।

सुर्खेतस्थित नविन बुक्स एण्ड स्टेसनरीका प्रोपाइटर चेतन कँडेलले स्थानीय तहमार्फत विद्यालय हुँदै आफूहरुले रकम पाएपछि जनक शिक्षाबाट किताब लिने गरेको बताए । ‘स्थानीय तहहरुले अझै विद्यालयलाई पैसा दिएका छैनन्, विद्यालयले हामीलाई विद्यार्थीको तथ्यांकसहित रकम दिए मात्र किताब लिन सहज हुन्छ, उनले भने, लगानी डुब्ने भएपछि हामीले पनि आफै लगानी गरेर किताब ल्याउन सकिँदैन, तर किताबको दोषजति हामी व्यवसायीलाई मात्र दिने गरिएको छ ।

उनले ९ प्रतिशत कमिसनको लोभमा ठूलो रकम जोखिममा राखेर लगानी गर्न नसकिने बताएका छन् । कालीकोटका पुस्तक व्यवसायी अमर पाण्डेले विद्यालयहरुले आफूहरुलाई रकम नदिँदासम्म किताब किन्न नसकिने बताए ।
शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निमित्त निर्देशक दीपा हमालले समयमै पाठ्यपुस्तक पुर्‍याउन आवश्यक पहल भइरहेको बताइन् ।

‘यो वर्ष जनक शिक्षामा किताबको अपर्याप्तता छैन, उनले भने, स्थानीय तहले विद्यालयलाई समयमै पाठ्यपुस्तकको रकम निकासा नदिँदा पनि समस्या भएको देखियो, जसका कारण विद्यालयले पनि पुस्तक व्यवसायीलाई रकम दिन सकेका छैनन, अबको एक साताभित्रै सबै विद्यालयमा पुस्तक वितरणको व्यवस्था मिलाउन आग्रह गरिरहेका छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button