‘सी गाउँ’ माल्कोटमा ‘सी संस्कृति’ अनुसार मृत्युसंस्कार गरिदै

२९ फागुन, कालिकोट ।
जिल्लाको ‘सी गाउँ’ माल्कोटमा स्थानीय जनताले समेत ‘सी संस्कृति’ अनुसार मृत्यु पछिको संस्कार गर्न थालेका छन ।
‘सी गाउँ’ माल्कोट सल्लारुख निवासी स्थानीय भेउसे विकले ७५ बर्षिय श्रीमति जिउडी विकको मृत्युपछि ‘सी संस्कृति’ अनुसार मृत्यु संस्कार गर्न थाल्नु भएको हो ।
परम्परागत संस्कार अनुसार १३ दिन क्रियापुत्री वस्ने चलन छ । तर त्यो संस्कारलाई तोडदै नेकपाले अघि सारेको ‘सी संस्कृति’स्थानीयहरुले पनि अनुसरण गर्न थालेका हुन ।
यहि फागुन २६ गते आफ्नै कालगतिले निधन हुनु भएकी जिउडीको ‘सी संस्कृति’ अनुसार फागुन २७ गते दाहासंस्कार गरिएको थियो ।
त्यसपछि फागुन २८ गते उहाँको स्मृतिमा वृक्षारोपन गरिएको छ । जसमा दाँते ओखर ३ वटा, उत्तिस ४ वटा र बैँस १ वटा गरि जम्मा ८ वटा बिरुवा वृक्षारोपण गरिएको जनाईएको छ ।
विहिवार २९ गते ‘सी संस्कृति’ अनुसार मृतक कोष खडा गरिदैछ । यस्तै चैत १ गते राहत बितरण गर्ने र चैत २ गते शोकसभा गरि मृत्यु संस्कारको काम सक्ने पारिवारिक श्रोतले बताएको छ ।
दाहसंस्कार,वृक्षारोपण लगायतका कामहरुमा नेकपाका जिल्ला इन्चार्ज विवेक सी, सीसीएम रमेश सी लगायतका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको छ ।
झण्डै दुई बर्ष अघि नेकपाका प्रवक्ता प्रकाण्ड सीले यस गाउँलाई सी गाउँ समेत घोषणा गर्नु भएको थियो । यो गाउँ प्रवक्ता प्रकाण्ड सी कै आफ्नै जन्मगाउँ पनि हो । यो गाउँ जनयुद्ध र एकीकृत जनक्रान्तिमा अग्रणी भूमिका खेल्ने विद्रोही गाउँको रुपमा पनि परिचित छ ।