कम्युनिष्टहरु बिच नयाँ आधारमा नयाँ एकता सम्भव छः विप्लव सी ।

१४ फागुन, कालिकोट ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरु बिच नयाँ आधारमा नयाँ एकता सम्भव रहेको बताउनु भएको छ ।
रास्कोट नगरपालिकाले बुधवार विहान आयोजना गरेको स्वागतपछि बोल्दै महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरु बिच नयाँ आधारमा नयाँ एकता सम्भव भएको बताउनु भएको हो । उहाँले भन्नु भयो,‘नेपालमा सिंगै देशको नेतृत्व कम्युनिष्ट पार्टीले गर्नु पर्छ, त्यसका लागि ठोस प्रस्ताव सहित नयाँ आधारले नयाँ एकता सम्भव छ, माओवादीहरुको बिचको एकता पनि रुपान्तरण सहित सम्भव छ । नेपाललाई नयाँ ठाउँमा लिने नयाँ प्रस्ताव हुनु पर्छ ।
एकताको नयाँ घोषणापत्र बन्नु पर्छ, एक अर्कोमा मिल्ने होईन नयाँ आधारमा नयाँ एकता हो ।’ उहाँले नेपालमा दलाल पुँजीवाद प्रमुख समस्या भएको भन्दै नेपालको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र हुने दाबी गर्नु भयो । महासचिव विप्लवले नगरसरकारले गरेका राम्रा कामहरु प्रति धन्यवाद दिर्दै समाजवादी मोडमा काम गर्न सुझाव दिनु भयो ।
उहाँले नेपालबाट एमसीसी फर्किने कुरा नेकपाको आन्दोलनको प्रभाव भएको जिकिर गर्दै अमेरिकालाई नेकपाले एमसीसी फिर्ता लिएकोमा धन्यवाद दिएको बताउनु भयो । कार्यक्रममा नगरसरकारका तर्फवाट कार्यपालिका सदस्य भैरे तिरुवा, वडाअध्यक्ष तपेन्द्र आर्याय, मनिराज वराल,कपुर महतारा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यहरु विजय, शिखर, नगरसचिव कंचन लगायतका नेताहरुले माओवादी एकताको लागि पहल गर्न महासचिव विप्लवलाई सुझाव दिएका थिए ।
उनीहरुले माओवादी भित्रका केही खरावीहरु भएको स्वीकार गर्दै रुपान्तरण सहित माओवादीहरुको एकताको विकल्प नभएको बताएका थिए । उनीहरुले सत्तामा गएका कारण कहिन कहि माओवादी केन्द्र प्रदुषित भएको भन्दै वाहिर भएको विप्लव सहितको शक्तिको एकता जरुरी भएको बताएका थिए ।