मिति: २९ चैत्र २०८१, शनिबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
नेकपाले २७ औं वीरता दिवस माल्कोटमा भव्य कार्यक्रम गरेर मनायो  – Darsan Nepal
कर्णाली प्रदेशताजा समाचारमुख्य समाचार

नेकपाले २७ औं वीरता दिवस माल्कोटमा भव्य कार्यक्रम गरेर मनायो 

२६ चैत्र, कालिकोट ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २७ औं वीरता दिवस माल्कोटमा भव्य कार्यक्रम गरेर मनाएको छ ।

नेकपा कालिकोटले मंगलवार माल्कोटको शेरापाटामा जनसभा कार्यक्रमको आयोजना गरीे वीरता दिवस मनाएको हो । ‘नेपाल कम्युनिष्ट पार्टी – जिन्दावाद ! नेपाली विशेषताको समाजवाद – जिन्दावाद ! वीरता दिवस –जिन्दावाद ! माल्कोटका वीर साहसी महिला – जिन्दावाद ! वीर सहिद –लालसलाम ! एकीकृत जनक्रान्ति– जिन्दावाद !’ जस्ता गगनभेदी नारा लगाउदै सयौ जनताहरु जुलुस सहित वीरता दिवस मनाउन शेरापाटा विद्यालयमा सहभागी भएका थिए ।

जनसभालाई नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विवेक सीले सम्वोधन गर्दै माल्कोटवासी महिलाहरुले तत्कालिन प्रतिक्रियावादी सत्ताका विरुद्ध ठुलो साहासीक विद्रोह गरेको दिन चैत्र २६ गते भएको स्मरण गर्दै यो दिवसको जति प्रशंसा गरेपनि कमै हुने बताउनु भयो । उहाँले सामन्ती राजतन्त्रात्मक व्यवस्थाकाको रक्षाका लािग जनदमनमा माल्कोट पुगेको तत्कालिन हत्यारा प्रहरी जत्थामाथि २७ बर्ष अघि माल्कोटी साहसी महिलाहरुले गरेको प्रतिरोध ऐतिहासीक भएको भन्दै प्रतिरोधमा सहभागीहरुलाई धन्यवाद दिनु भयो । केन्द्रीय सदस्य विवेकले जनयुद्धका कारण देश गणतन्त्रसम्म पुगेको बताउदै गणतन्त्र जनताको हुन नसक्दा सामन्ती तत्वहरुले फेरी टाउको उठाईरहेको बताउनु भयो ।

‘माल्कोटवासी महिलाहरुको प्रतिरोधका कारण देश गणतन्त्रसम्म पुग्नेमा ठुलो भूमिका छ’ केन्द्रीय सदस्य विवेकले भन्नु भयो, ‘गणतन्त्र विद्रोह गर्ने महिलाको हुन सकेको छैन, यो सहि नै छ । हाम्रो जनयुद्धले २४० बर्षको निरंकुश राजतन्त्रको अन्त्य गरेको छ, यो ठुलो उपलव्धी हो । तर आज फेरी सामन्ती तत्वहरुका भूतहरु गणतन्त्र उल्ट्याउने दुश्साह गरिरहेका छन । यो हामीलाई किमार्थ स्वीकार्य छैन ।’ उहाँले जनयुद्धको सपना पुँजीवादी गणतन्त्रले पुरा गर्न नसकेको बताउदै देशको अहिलेको निकास राजतन्त्र हुन नसक्ने जिकिर गर्नु भयो । नेता विवेकले देशको अहिलेको संकटको अग्रगामी निकास एकमात्र समाजवादी गणतन्त्र भएको दाबी गर्दै फेरी पनि अधुरो क्रान्ति पुरा गर्न एकीकृत जनक्रान्तिको मोर्चामा लामबद्ध हुन माल्कोटवासी जनतालाई अपिल गर्नु भयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव राजकुमारी सीले महिलाहरुको विद्रोहलाई प्रतिगामीहरुले सामान्य रुपमा नलिन चेतावनी दिनु भयो । उहाँले महिलाहरुले केही गर्न सक्दैन भन्ने मान्यतालाई माल्कोटवासी महिलाहरुले तोडेको बताउदै जनयुद्धले पनि महिलाहरुको क्षमता विकास गरेको दाबी गर्नु भयो ।

विद्रोहमा सहभागी महिलाहरुलाई विशेष धन्यवाद तथा बधाई दिदै महिला नेतृ राजकुमारीले समाजवादी क्रान्तिका लागि माल्कोटवासी महिला तथा आम जनता एकताबद्ध हुन आवश्यक भएको विचार राख्नु भयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य अविचल सी, नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी बलवान सी, नेकपाका केन्द्रीय सल्लाहकार समिति सदस्य समग्र सी, नेकपाका केन्द्रीय सदस्य विक्रम सी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । के हो माल्कोटको महिलाहरुको प्रतिरोध विद्रोह ? २०५४ साल चै त्र २६ गते आजैको दिन जनदमनमा माल्कोट पुगेको प्रहरी जग्थालाई महिलाहरुले संगठित रुपमा प्रतिरोध गरी विथोल्डाँडा रहगाड हुदै चिउरी मेलासम्म लखेटी प्रहरीको हतियार खोसेर पाटीलाई बुझाएको स्मरणमा हरेक बर्ष नेकपाले वीरता दिवस मनाउने गरेको छ । यो गाउँ नेकपाका प्रवक्ता प्रकाण्ड सीको गाउँ पनि हो ।

उहाँकै नाम लिदै जनदमनका लागि प्रहरी कुमालगाउँ प्रहरी चौकीबाट माल्कोट पुगेको थियो । प्रहरीले माल्कोट पुगेपछि माओवादी खै कहाँ छन ? भन्दै सुरुमा स्थानीय महिला प्याउकली विकमाथि ज्याजती गरेको थियो । उहाँको घरमा गाँउमै प्रयोग गरिने हाते माईक भेटाएकै कारण माईक माओवादीको हुनसक्ने भन्दै प्रहरीले प्याउकलीमाथि चरम यातना दिन थाल्यो । प्याउकलीले कुनै पनि हालतमा पार्टीको माईक नभएको बताईरहेको बेला प्रहरीले उहाँको टाउकोमा एक्कासी गोली हान्यो भने गाउँ कोलहाल र रक्तामे भयो । त्यसपछि आक्रोशित महिलाहरुले प्रहरीका विरुद्ध घरेलु हात हतियार र ढुङगा मुढाले प्रतिरोध सुरु गरे । प्रहरीले अन्धाधुन्ध गोली चलायो । प्रहरीको गोलीबाट प्याउकली सहित थप विजा विक, जया विक,मंगली विक, गोरीकला विक लगायतका ६ जना महिलाहरु घाईते भए । महिलाहरुको प्रतिरोध रणमैदानमा परिणत भयो ।

महिलाहरुले प्रहरीलाई ढुङगा मुढा र घरेलु हात हतियारले प्रतिरोध गर्दै विथोलडाँडा हुदै रहगाडसम्म लखेटे । माल्कोट,कोटवाडा र लालुबाट थप सहभागी महिला पुरुषले प्रहरीलाई त्यहाँबाट पनि लखेट्दै चिउरी मेलासम्म पुर्याए । मेलाको एउटा ओढारमा लुकेर बसेका प्रहरीले धन्धाधुन्ध चलाएको गोली लागि कोटवाडाका काली बहादुर विकको उच्च शाहदत्त भयो ।

उहाँ कालिकोटकै पहिलो सहिद पनि बन्नु भयो । क्रान्तिकारी आक्रोशित महिला तथा पुरुषहरुले प्रहरीलाई बाध्य भएर ओढारमा आगो लगाउन पुगे । आगोबाट जलेर ३ जना प्रहरीको ओढारमै मृत्यु भयो । प्रहरीले प्रयोग गर्ने एक थान थ्रिनट थ्रि राईफल समेत बहादुर महिलाहरुले खोसेर तत्कालिन जनयुद्ध लडिरहेको नेकपा (माओवादी)लाई बुझाएका थिए । यही घटनालाई स्मरण गर्दै हरेक वर्ष वीरता दिवस मनाईरहेको नेकपाले यो बर्षपनि मनाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button