मिति: २५ चैत्र २०८१, मंगलवार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
दलितलाई अब मान्छे भएर बाँच्न देऊ – Darsan Nepal
देशवाग्मती प्रदेश

दलितलाई अब मान्छे भएर बाँच्न देऊ

प्रेम गरेकै कारण झण्डै ५० जना दलितहरुको हत्या

काठमाडौ/

जातीवादी सामाजिक संरचनाका कारण दलित समुदाय विरुद्ध छुवाछूत दुर्ववहारका घटना बढेको भन्दै दलित समुदायका अगुवाहरुले अझै दलितहरुलाई मान्छे भएर बाँच्न पाउने अधिकार प्राप्त नभएको बताएका छन ।आइतबार माइतीघर मण्डलामा आयोजित जातीय भेदभाव तथा हिंसाविरुद्धको संयुक्त प्रदर्सनलाई सम्बोधन गर्ने क्रममा उनीहरुले दलित अधिकारको कार्यान्वयनमा जोड दिएका थिए ।

नेपालमा राणा शासनबिरोधि आन्दोलन देखि पञ्चायत र पछिल्लो गणतान्त्रिक आन्दोलनमा दलित समुदायको तर्फबाट बलिदान, त्याग र समपर्ण हुँदै आएको स्मरण गर्दै गणतन्त्र स्थापना पछि समेत छुवाछूत, बिभेद र प्रेम गरेकै कारण झण्डै ५० जना दलितहरुको हत्या समेत भएको बक्ताहरुले बताए ।

संविधान र कानुनमा कतिपय प्रगतिशील प्रावधान राखिएको भएपनि त्यसको कार्यान्वयन नभएको बरु दलितमाथी निरन्तर हिंसाका घटना बढ्दै जानु र सरकार एवम् राज्यका निकाय मुकदर्शक हुनु दु:खद अवस्था भएकोमा कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए।

कार्यक्रममा नेपाल दलित समाजवादीका इन्चार्ज मिन परियारले संविधानमा छुवाछूत मुक्त व्यवस्था गरिनु तर त्यसको कार्यान्वयन नहुने हात्तीको चपाउने र देखाउने फरकफरक दात जस्तै भएको टिप्पणी गरे।

श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीले संविधानले केहि राम्रा र प्रगतिशील व्यवस्था गरेको तर अन्तरजातीय बिबाह र प्रेम गरेकै कारण दलितहरुको हत्या हुनु गम्भीर बिषय भएको उल्लेख गर्दै सबै नागरिकलाई राज्यले समान व्यबहार नगरेको बताए।उनले यो राज्य कुन बर्गको हो, राज्यमा दलितको अधिकार छ कि छैन ? भन्दै अब एकताबद्द आन्दोलनको विकल्प नरहेको धारणा राखे।प्राप्त उपलब्धिको रक्षा गर्दै दलित मुक्तिको आन्दोलन बिकास गर्न सबै संघ- संगठनबिच एकता र सहकार्य जरुरी रहेको कुरामा उनको जोड रहेको थियो ।

त्यस्तै बिभेद र हिंसा विरुद्धको प्रदर्शनको क्रममा दलित नागरिक अगुवा मोतिलाल नेपालीले हिन्दू ब्राह्मणबादी सामन्ती कालारात्रीलाई जनयुद्ध र जनआन्दोलनले बढारेर फालेपनि दलित माथीको अत्याचार जारी रहेको भन्दै अब सत्तालाई प्रहार नगरी गोष्टि र अन्तरकृया गरेर मात्रै समास्या समाधान असंभव रहेको टिप्पणी गरे।त्यस्तै संविधानसभा सदस्य दुर्गा परियारले दलित समुदायको सिप, श्रम र कला समाजका सबै संरचनामा प्रयोग हुने गरेको तर उनीहरुमाथी छुवाछूत र हिंसा हुनु गलत भएको भन्दै अहिलेको सरकार समानुपातिक समावेशीकारणलाई समेत हटाउन उद्दत रहेको दाबी गरिन ।

कार्यक्रममा डा. निर्मल बिश्वकर्माले दलित समुदाय माथि पछिल्लो समयमा भैरहेका हिंसा र बिभेदका घटनालाई गहिरो बिष्लेषण गरि हेर्नुपर्ने कुरामा जोड दिँदै उनले जब सत्तामा कट्टरपन्थी एवम् अनुदारवादी शक्ति हाबी हुन्छ तब दलित बिरुद्ध अत्याचारका घटनाहरु बढ्ने गरेको बताएका थिए ।

नेकपा एकीकृत समाजवादीका सचिव गणेश बिश्वकर्माले जातीय छुवाछूत र दलितविरुद्ध भैरहेका हिंसाका घटनामा राज्य गैरजिम्मेवार र संवेदनाहिन भएकोले उनीहरुमाथि दिनप्रतिदिन जघन्य अपराध हुँदा समेत सरकार मौन बसेको भनाइ राखेका थिए।देशमा गणतन्त्र आइसकेपछि र नयाँ संविधानमा गरिएका केहि प्रगतिशील प्रावधानले अब दलित पनि यो समाज र राज्यको हिस्सेदार हुन्छन् भन्ने अपेक्षा गरिएको थियो तर त्यसको उल्टो उनीहरुविरुद्ध अन्याय र अत्याचार थपिएको बताए ।

दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री दलजीत श्रीपालीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दलितको समेत रगत, पसिना र योगदानले देशमा गणतन्त्र आएको र अहिले परिवर्तन बिरोधी, गणतन्त्र बिरोधि र जनयुद्ध विरुद्ध हिंसा गर्नेहरूको नियन्त्रण सत्तामा भएकोले महिला, दलित लगायत उत्पीडित जनतामाथि हिंसाका घटनाहरु भैरहेको बताए । सम्बोधनको क्रममा उनले ब्यवस्था बदलेर अब अवस्था बदल्ने बेला व्यवस्था र संविधानविरुद्ध प्रहार हुन थालेको उल्लेख गर्दै संविधानको धारा४० अनुसारको कानुन निर्माण गरि अगाडि बढ्नुपर्नेमा उनको जोड रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button