कला मार्फत समाजवादको तयारी
अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गत सामना कलाकारले समाजवादका लागि साँस्कृतिक अभियान थालनी

काठमाडौ
अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गत सामना कलाकारले समाजवादका लागि साँस्कृतिक अभियान थालनी गरेको छ।गित,नृत्य , संगीत, अपेरा, नाटक लगायतका कलाका माध्यमद्वारा जनजागरण सिर्जना गर्ने उदेश्यले अभियान सञ्चालन गरेको सामना कलाकारका संयोजक आरोहले बताए । “देशमा अहिले आर्थिक राजनीति संकट र चुनौती थपिएका छन् , जनतामा असन्तुष्टि, आक्रोश र पीडा छ, समस्याहरुको मसिनो बिष्लेषण गर्दा यसको अन्तरसम्बन्ध विद्यमान व्यवस्था र शासकहरुसंग जोडिएको प्रष्ट देखिन्छ”- “संयोजक आरोह भन्छन् – “जनताले पटकपटक आन्दोलन र बलिदान गरे तर उनीहरुको दैनिकी र चुलो बदलिएन, खाली शासकहरुको शक्ति र सम्पत्ति मात्रै थपिदैछ, के यो अवस्था बदलिनु पर्दैन ?” युवाहरुको बिदेश पलायनता,महङ्गी, भ्रष्टाचार, बेरोजगार, अराजकता र कुशासन अहिलेको दलाल पुँजीवादी उत्पादन सम्बन्धको गलत परिणाम भएकोले यसको विकल्प अपरिहार्य भएको भन्दै संयोजक आरोह अब पुरानो व्यवस्थाबाट देश चल्न नसक्ने र नेपाली बिशेषताको समाजवादको लागि नागरिकलाई सुसूचित गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउछन् । समाजवादबिना देशमा बिकास ,निकास र स्थायित्व असंभब हुने र त्यसका लागि कलाको माध्यमबाट देशव्यापी कार्यक्रम गरि व्यवस्था परिवर्तनको पक्षमा जनमत निर्माण गर्नु अभियानको उदेश्य भएको उनको भनाइ छ। समाजवादका लागि सामना सांस्कृतिक अभियान अन्तर्गत प्रदेश न १ इलामको इलामचोक बजार ,झापाको बिर्तामोड र हिमालीचोक,मोरङको बिराटनगर,सुनसरीको इटहरी तथा उदयपुरको गाइघाट र कटारीमा कार्यक्रम सम्पन्न भैसकेका छन् । अभियानमा पूर्वमन्त्री तथा वरिष्ठ जनवादी कलाकार मणी थापा, वरिष्ठ श्रस्ठा माइला लामा,कलाकार रमण थामी लगायत गायक र नृत्यकारहरुको सहभागिता रहेको छ। सांस्कृतिक कार्यक्रम मार्फत देशको समस्याको प्रमुख कारण नेपालमा पश्चिमा शैलीको संसदीय व्यवस्था भएको,नेपालको मौलिकता, बिबिधता र आवश्यकता अनुसारको लोकतन्त्र स्थापना हुन नसकेकोले अब समाजवाद मार्फत उक्त खाँचो पूरा गर्न प्रगतिशील शक्ति र व्यक्तिबिच सहकार्य र एकतामा जोड दिइएको छ।