मध्यरातमा युवकलाई बुट बजार्ने प्रहरी निलम्बन कार्वाहीका लागि छानबिन समिति गठन
ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन

चितवन
चितवनमा मध्यरातमा एक जना युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।
जिल्लाको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकले कसैलाई फोन गर्न थालेपछि ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले उनलाई लात्तीले हानेर कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
प्रहरी स्रोतका अनुसार गणेशस्थान बिटमा कार्यरत प्रहरी सहायक निरिक्षक बुद्धिबहादुर घर्ती भुजेल हुन् । उनले प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।
एसपी मिश्रका अनुसार घटना गत पुस १५ गतेको हो । कुटाइखाने व्यक्ति भरतपुरकै भोजाडतिरका भएको प्रारम्भिक सूचना छ । ती युवकलाई खोज्ने काम भइरहेको मिश्रले बताए ।
छानबिन समिति गठन
घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरीले सडकमा युवकलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै प्रहरी प्रधान कार्यालयले संलग्न कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको हो ।