रास्कोटमा नेकपा र माओवादी केन्द्रले मनाए संयुक्त रुपमा ‘जनयुद्ध दिवस’

१ फागुन, कालिकोट ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रले रास्कोटको आरसीपी वजारमा विहिवार संयुक्त रुपमा ३० औं जनयुद्ध दिवस मनाएका छन ।
नेकपा र माओवादी केन्द्रको नगर कमिटीले ३० औं जनयुद्ध दिवससंगै मनाउने निर्णय गरेपछि नगरमा संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका हुन ।
प्रतिगामी तत्वहरुले जनयुद्धलाई हिंसा भन्दै गरेको र दिवस मनाउन नहुने भनिरहेका बेला जनयुद्धका सहयात्री माओवादी घटकका यी दुई पार्टीेले जनयुद्ध दिवस संयुक्त रुपमा मनाउनु ऐतिहासिक कदम हो । जनयुद्ध दिवसका अवसरमा दुवै पार्टीका नेताहरुले जनयुद्धका सहयात्रीहरु दलहरु एकताबद्ध हुनुको विकल्प नभएकोमा जोड दिएका छन ।
दुबै पार्टीका नेताहरुले जनयुद्ध दिवसका अवसरमा एकआपसमा शुभकामना आदान प्रदान गर्दै जनयुद्धमा संगै खाएको,संगै भोकै वसेको, संगै सुतेको, संगै हाँसेको र संगै रोएको तिता मिठा क्षणहरु सम्झिदै जनयुद्धलाई महान तथा जनताको मुक्ति युद्ध भएको ठोकुवा गरेका छन ।
दुवै पार्टीका नेताहरुले माओवादीहरुको एकता विना प्रतिगामीहरु परास्त नहुने पनि बताएका थिए ।
जनयुद्ध दिवसको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रणदिप सीले सम्वोधन गर्दै जनयुद्ध भनेको नेपाली जनताको मुक्ति युद्ध भएको बताए ।
उनले जनयुद्धको लक्ष्य उद्देश्यहरु अझै पुरा नभएको भन्दै जनयुद्धको लक्ष्य उद्देश्यहरु पुरा गर्न सम्पूर्ण माओवादीहरुको रुपान्तरण सहितको एकता आवश्यक भएको टिप्पणी गरे ।
उनले नेपालमा जनयुद्धकै कारण गणतन्त्रसम्म देश आए पनि यो नेपाली जनताको गणतन्त्र बन्न नसकेको भन्दै जनताको व्यवस्था वा गणतन्त्रका लागि नेपाली विशेषताको समाजवाद आवश्यक रहेको जिकिर गरे ।
कार्यक्रमका विशेष अतिथिहरु नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यहरु रविन्स, उषा, पोषण र शिखरले सम्वोधन गर्दै जनयुद्ध भनेको नेपाली जनताको न्यायपूर्ण युद्ध भएको बताए ।
उनीहरुले जनयुद्धको सपना पुरा नभएको बताउदै माओवादीहरुको एकताले जनयुद्धको सपना पुरा गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा माओवादी केन्द्रका रास्कोट नगर कमिटी इन्चार्ज बिष्णु बराल, नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य छायाँ सीको पनि आतिथ्यता रहेको थियो ।
नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष पदम खड्का (सुवास)को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपाका नगर कमिटी इन्चार्ज निर्देशन सीले गरेका थिए ।