मिति: ३ बैशाख २०८२, बुधबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
माओवादीसंग एकताको ढोका बन्द छैन्,चुनावमा जान्छौं भन्दा षड्यन्त्र सुरु भयो:नेता विषम – Darsan Nepal
ताजा समाचारदेश

माओवादीसंग एकताको ढोका बन्द छैन्,चुनावमा जान्छौं भन्दा षड्यन्त्र सुरु भयो:नेता विषम

‘प्रचण्ड नेतृत्वको माओवादीसंग एकताको विषय जोडतोडले उठ्ने गरेको छ

पौष २८,दाङ

हेमन्तप्रकाश वली । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य सन्तोष सी (विषम)ले माओवादीसंग एकताको ढोका बन्द नभएको बताएका छन् ।
आइतबार पार्टीको दाङ जिल्ला बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीको चौथो आवधिक योजनाको प्रथम बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै नेता विषमले भने– ‘प्रचण्ड नेतृत्वको माओवादीसंग एकताको विषय जोडतोडले उठ्ने गरेको छ । हाम्रो पार्टीको निर्णय विचार मिल्ने पार्टीहरुसंग एकता र मुद्दा मिल्ने पार्टीहरुसंग मोर्चावन्दी गर्दै अघि बढ्ने हो । माओवादीसंग हाम्रो विचार मिल्दैन तर सैद्धान्तिक रुपमा समाजवादमा जाने , साम्यवादसम्म पुग्ने लक्ष्यहरु समान छन् । मुख्य कुरा माओवादीसंग पार्टी एकताको मात्रै होइन , यहाँ हामिले विचारको एकता गर्ने भनेका हौं । माओवादी केन्द्रसंग कार्यदिशा मिल्दैन, तत्काल एकता हुँदैन तर एकताको ढोका बन्द भएको छैन् । विचारको एकता नभए पार्टी फेरि फुटिहाल्छ ।एकता त प्रचण्ड र केपीको पनि भएकै हो तर त्यो टिक्न सक्यो त? प्रचण्डहरुको कुरा चुनावदेखि चुनावसम्मको मात्रै छ तर हामिले चुनावलाई संघर्षको मोर्चा बनाएका हौं । हामीपनि चुनावमा जाने नै हो तर संसदीय चुनावबाट सबै हल हुन्छ भन्ने कुरा होइन् । हामी संसदीय सत्तामा पराकम्पन ल्याउन चुनावमा जाँदै छौँ । हामी चुनावबाट पनि दलाल पुजीवादी सत्ता भत्काउन जाने हो। पार्टीबाट चुनाव गएकाहरुले जनसत्ताको काम गर्ने हो। पार्टीका सबै नेताकार्यकर्ताले चुनावलाई संघर्षको बलियो मोर्चाका रुपमा बुझ्नुपर्दछ ।’

‘१० वर्ष पार्टीले गरेका कामहरुलाई अब विचारमा संस्लेषण गर्ने सोचेका छौँ । हामिलाई १० वर्षसम्म केही गर्न सकेनौं भन्ने आरोप छ तर हामिले दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा ठुलाठुला योगदान गरेका छौँ । यसलाई एकमुष्ट गरेर पुँजिकृत गर्नेगरी विचार अधिवेशन गर्दैछौं ,’ उनले भने।

नेता विषमले जनतासंग जोडिने कुनैपनि बाटाहरु नछाड्ने कार्यदिशा नै एकीकृत जनक्रान्ति भएको स्पष्ट पारे ।
उनले भने– मार्क्सवाद विज्ञान हो र यसले विकासको माग गर्दछ । जनयुद्धले सेटब्याक खानुपनि विचारमा विकास गर्न नसकेर हो । त्यसैले अहिले नेकपाले अघि सारेको कार्यदिशा आफ्नै मौलिक कार्यदिशा हो । एकीकृत जनक्रान्तिमा सबै मोर्चाबाट दलाल पुजीवादका विरुद्धमा लड्नुपर्दछ । साम्राज्यवादले समग्र मोर्चाबाट लडिरहेका बेला हामीले पनि जनतासंग जोडिने कुनैपनी मोर्चा खाली गरेर सोच्नु हुँदैन । साम्राज्यवादका विरुद्ध मोर्चावन्दी गर्दै लड्नुपर्दछ ।’

‘अब पार्टीलाई समाजवादको नेतृत्वका लागि तयार पार्नुपर्दछ । अहिले नेपालको सन्दर्भमा वैकल्पिक पार्टी नेकपा हो । साम्राज्यवादका विरुद्ध दृढतापुर्वक लड्ने पार्टी पनि हाम्रै हो । संसदवादी पार्टीहरु त साम्राज्यवादसंग दलालीमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पार्टीले अब साम्राज्यवाद र दलाल पुजीवादका विरुद्ध शसक्त मोर्चा खडा गरेर लड्ने गरि सोचेको छ । अब पार्टीलाई समाजवादको नेतृत्वका लागि जनसम्बन्धलाई सुदृढ गर्दै तयार पार्नुपर्ने बेला आएकाले नेताकार्यकर्ता गाउँगाउँमा जनतासंग सुमधुर ढंगले जोडिनुपर्छ । हाम्रो लक्ष्य वैज्ञानिक समाजवाद नै हो तर अहिले नै सबै पार्टीहरु त्यहाँसम्म सहमत हुदैनन् भनेपनि हाम्रो प्रस्ताव नेपाली बिशेषताको समाजवादसम्म भएपनि जाउ भन्ने हो । नेपाली बिशेषताको समाजवादबाट दलाल पुजीवादको अन्त्य गर्दै वैज्ञानिक समाजवादसम्म पुग्ने लक्ष्य राख्नुपर्दछ । वैज्ञानिक समाजवादमा मात्रै सबै मानव जाती समान हुनसक्छन् । जनताका आधारभुत समस्या हल गर्ने प्रकारको प्रारम्भिक समाजवादको अभ्यास गरेर भएपनि कम्तिमा दलाल पुजीवादको लुटखसोटबाट जनतालाई जोगाउनुपर्छ तर हाम्रो रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद – साम्यवाद नै हो ,’ उनले भने।

नेता विषमले पार्टीले सुरु गरेको आत्मनिर्भर उत्पादन नितिलाई अझै कडाइपुर्वक लागु गरि नेताकार्यकर्ता , पार्टी र जनतालाई आत्मनिर्भरताको दिशामा अघि बढाउनु निर्देशन दिए ।
‘अहिलेको उत्पादनबाट पार्टीका नेताकार्यकर्ता आत्मनिर्भर भएका छन् , यो कार्यनीतिक विषय जस्तो भएको छ तर हाम्रो कुरा यसलाई समाजवादको आधार बनाउने हो । यो हाम्रो रणनीतिक कुरा हो । उत्पादनबिना समाजवादको परिकल्पना हुँदैन । राजनीतिक क्रान्ति पछि आर्थिक क्रान्तिको नितिलाई हामिले त्यागेका छौँ । राजनीतिक क्रान्तिसंगै आर्थिक , उत्पादनको कार्यलाई व्यवस्थित गर्दै न्युनतम समाजवादको आधारशिला तयार पार्दै अघि बढ्नुपर्छ । हामिले केन्द्रीय कमिटीको बैठकबाट नयाँ आर्थिक मार्गको छलफल समेत गरेका छौँ। नेकपाले अब आर्थिक कमान्डबाट राजनीतिक नेतृत्व गर्नेगरी सोचेको छ । नेकपाका प्रत्येक नेताकार्यकर्ता अनिवार्य श्रम र उत्पादनमा जोडिनैपर्छ । यो हाम्रो महान आदर्श र नीति हो ,’ उनले भने।

एक अर्को प्रसंगमा नेता विषमले राज्यले नेकपासंग गरेको तीन बुदे सहमती लत्याए पार्टी संघर्षमा जाने चेतावनी समेत दिएका थिए ।

यस्तै बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले जिल्लामा चौथो आवधिक योजनाको समग्र कार्ययोजना पेश गरेका थिए ।

नेकपा दाङको चौथो आवधिक योजनाको प्रथम बैठकले जिल्लामा जनसरोकार र जनजिविकाका पक्षमा राजनीतिक कामकाजलाई व्यवस्थित गर्ने , भ्रष्टाचार , कमिसनखोरी , लघुवित्तिय आतंक , मिटरव्याज , सहकारी ठगीका विरुद्ध संघर्ष चर्काउने , जवस/मोर्चाका कार्यक्रमहरु एवम अभियानलाई व्यवस्थित गर्ने निर्णय गरेको जनाएको छ ।

बैठकले तुलसीपुर-घोराही फोरलेन सडक निर्माण , तुलसीपुरको एअरपोर्टको क्षमतावृद्धिका लागि दबाबमुलक संघर्ष गर्ने समेत निर्णय गरेको सो पार्टीका एक नेताले बताए ।

यस्तै बैठकले दाङका १० वटै पालिकामा नयाँ सेक्रेटरीहरु चयन गरेको छ भने पार्टीको जिल्ला कमिटीमा ३० जना र सल्लाहकार समितिमा ३ जनालाई मनोनीत समेत गरेको छ ।

बैठकमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पार्टीको नवौं केन्द्रीय समितिको छैठौं पुर्ण बैठक तथा पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकको परिपत्र वाचन गरेका थिए ।
नेकपाको केन्द्रीय समिती बैठकले यसअघि नै ०८४ को निर्वाचनलाई समाजवादी अभियानको रुपमा संघर्षको मोर्चा बनाएर प्रयोग गर्ने निर्णय गरिसकेको छ ।

नेकपाका स्थायी समिती सदस्य विषम सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्यहरु विक्रम सी , सम्झना सी , प्रदिप सी , पाटन सी , निर्मल सी , विकाश सी , सुरज सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम बिद्यार्थी नेता अनिल सी , पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु , पार्टीका जिल्ला सल्लाहकार समितिका सदस्य नवराज सी र शुरेश सी लगाएतको आतिथ्यता रहेको थियो ।

बैठकको अध्यक्षता एवम सहजीकरण पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button