काठमाडौ ।
जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघलाई काठमाडौ शाखा लगायतको सदस्यता विवाद समाधान नगरी बलमिच्याईपूर्वक चुनाव नगर्न चेतावनी दिएको छ ।विहिवार अध्यक्ष शेरबहादुर विश्वकर्माको नेतृत्वमा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय पुगेको जनपत्रकार संगठनको टिमले महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाउदै सदस्यता विवाद निरुपणमा विभेद र अन्याय नगर्न चेतावनी दिएको हो ।
जनपत्रकार संगठन नेपालले आफ्नो ध्यानाकर्षण पत्रमा भनेको छ ‘काठमाडौ शाखा लगायत केहि जिल्लाहरुमा भएको सदस्यता सम्बन्धि समस्यालाई प्रक्रियासम्वत ढङ्गले टुङगो नलगाई वा सहमतिको नाममा सदस्यता प्राप्ति सम्बन्धि विधानले दिएको अधिकार कुल्चेर अघि जाने कुरा गम्भीर विषय हो । यदि महासंघले अन्यायपूर्ण ढङ्गले काम गर्ने र चुनावको नाममा बलमिच्याइ गरेमा हामी आन्दोलनका कार्यक्रम सार्वजनिक गरी संघर्ष गर्न बाध्य हुनेछौं ।’
जनपत्रकार संगठनले ध्यानाकर्षण पत्रमा पत्रकार महासंघ पछिल्ला दिनहरुमा आफ्ना वैधानिक र घोषित मान्यतामा नहिडि निश्चित राजनीतिक शक्तिको दुस्प्रभावको शिकार हुँदै भएको भन्दै यसले संस्थागत विश्वसनीयता, तटस्थता र निष्पक्षप्रति गम्भीर क्षयीकरण उत्पन्न भएको औल्याएको छ ।
संगठनले सदस्यता वितरण र नविकरण सम्बन्धि विधानले जे व्यवस्था गरेको छ तदनुसार नै समस्या समाधान गरि निर्वाचन गर्न पनि माग गरेको छ ।
सो अवसरमा जनपत्रकार संगठन नेपालका अध्यक्ष विश्वकर्माले आफ्नो संगठनका माग पुरा गर्न कार्यावाहक महासंघका अध्यक्ष अधिकारीलाई विशेष आग्रह गरेका थिए भने कार्यवाहक अध्यक्ष अधिकारीले जनपत्रकार संगठनले उठाएका मागहरुप्रति आफू गम्भीर भएको बताएकी थिईन ।